समाचार विहीबार, साउन ३०, २०७६

रवि लामिछाने पक्राउमा ‘मृत्युकालिक कथन (डाइङ डिक्लेरेसन)’ बलियो प्रमाण

हिमालखबर

२० साउनमा पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

शुरुमा पुडासैनीको आत्महत्या भनिए पनि त्यसबारे प्रहरी सहित स्थानीय र आफन्तले आशंका गरे । प्रहरीले पनि अनुसन्धान जारी राख्यो।

२४ साउनको प्रतिनिधिसभा बैठकमा फेरि यो विषयले प्रवेश पायो । शून्य समयमा बोल्ने सांसदहरुले पुडासैनीको आत्महत्याबारे अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

२९ साउनमा त पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो नै सार्वजनिक भयो । यसपछि भने यो प्रकरण ब्यापक बन्यो ।

तर, त्यस अगाडि नै टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनामाथि प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको थियो ।

२९ साउनमा सार्वजनिक भएको भिडियो प्रहरीले भने पहिले नै हात पारिसकेकाले अनुसन्धानले ठोस रुप नै लिइसकेको प्रहरी स्रोत बताउँछन् ।

सार्वजनिक भिडियोअनुसार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मर्नका लागि दुरुत्साहन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ।

पुडासैनीले रेकर्ड गराएको भिडियोलाई प्रहरीले  ‘मृत्युकालिक कथन (डाइङ डिक्लेरेसन)’ मानेको छ ।

मृत्युकालिक कथनलाई प्रमाण ऐन–२०३१ ले बलियो प्रमाण मान्छ ।

“पत्रकार पुडासैनीले आत्महत्या अगाडि रेकर्डमा भनेको कुराहरू प्रमाणित हुन्छ । यो बलियो प्रमाण हो”, एक प्रहरी अधिकृतले भने ।

अहिलेसम्मको अनुसन्धानकै आधारमा लामिछानेसहित तीन जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामिछाने र कँडेललाई 'न्यूज २४' टेलिभिजनको कार्यालयबाट र कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले चितवन लैजादैछ ।

 

रवि लामिछाने पक्राउ

पक्राउ परेका रवि लामिछानेलाई चितवन लगिदै

रवि लामिछाने पक्राउ, के हुन्छ कानूनी प्रक्रिया ?

प्रतिकृया दिनुहोस