पक्राउ परेका रवि लामिछानेलाई चितवन लगिदै
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन लगिने भएको छ ।
चितवन प्रहरीले अनुसन्धान अगाडि बढाएकाले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट बिहीबार नै चितवन लगिने प्रहरीले जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि लामिछानेसहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तीनै जनालाई शुक्रबार चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने छ ।
चितवन जिल्ला प्रहरी र काठमाडौं प्रहरी परिसरको टोलीले न्यूज २४ टेलिभिजनको कार्यालयबाटै लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको थियो भने बिहानै कलंकीबाट कार्कीलाई नियन्त्रणमा लिइसकेको थियो ।