जाडो विदामा पनि पढाइ
हिमाली जिल्ला मनाङमा पुसदेखि फागुनसम्म जाडो विदाका कारण विद्यालय बन्द हुन्छन्।
यति लामो विदामा विद्यार्थीको ध्यान पढाइबाट हट्न नदिन के गर्ने?
जिल्ला शिक्षा कार्यालय, स्थानीय चामे युवा क्लब र आमा समूहले यसको समाधान निकालेका छन्। “विदामा पनि टोल–टोलका विद्यार्थी भेला गरी पढाइरहेका छौं”, चामे युवा क्लबका निर्देशक लोकेन्द्रबहादुर घले भन्छन्।
क्लबले आमा समूहसँगको सहकार्यमा जिल्लाका १३ गाविसमा ३६ वटा टोल पठन समूह गठन गरिसकेको छ।
शिक्षा मन्त्रालयले कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइस्तर सुधार्न २०७१ सालदेखि पञ्चवर्षीय 'राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम' शुरू गरेको थियो।
यही कार्यक्रम अन्तर्गत मनाङका विद्यालयमा विदामा पनि पढाइने अभियान थालिएको जिल्ला शिक्षा अधिकारी देवकुमार बराल बताउँछन्। अभियानका निम्ति कार्यालयले ९ जना शिक्षकलाई पठन उत्प्रेरक नियुक्त गरी तालीम समेत दिइसकेको छ।
जिल्लामा गठित पठन समूह सञ्चालनको जिम्मा युवा क्लब, आमा समूह र अभिभावकहरूले लिएका छन्। खेलकुद र नाचगानका क्रियाकलापमा सक्रिय युवा क्लब र आमा समूहले बालबालिकाको पढाइमा पनि चासो दिनु सकारात्मक भएको जिल्लाको थोंचे स्रोतकेन्द्रका स्रोतव्यक्ति रामजीमूर्ति पन्त बताउँछन्।
माथिल्लो धारापानी टोल पठन समूहकी संयोजक गंगा गुरुङ यतिबेला वरपरका बालबालिका पढाइरहेकी भेटिन्छिन्। होटल व्यवसाय समेत संचालन गर्दै आएकी उनी पर्यटक आउने सिजन पनि सकिएकाले फुर्सदले पढाउन पाएको बताउँछिन्।
अभियान अन्तर्गत प्रत्येक समूहमा बालबालिका पढाउन पुस्तक पनि दिइएको छ। पठन उत्प्रेरक पार्वती पौडेल रोचक पुस्तकहरूका कारण बालबालिका पढाइमा लोभिने गरेको बताउँछिन्।
जिल्ला शिक्षा कार्यालयको तथ्यांक अनुसार, जिल्लाका कुल २७ विद्यालयमा ८१० जना मात्र विद्यार्थी छन्। अधिकांश स्थानीयले आफ्ना बालबालिकालाई काठमाडौं र पोखरातिर पढाउने भएकाले पनि विद्यार्थी कम देखिएका हुन्।
“पठन अभियानले नयाँ विद्यार्थी बढाउनुका साथै विद्यालय छाड्ने दरमा पनि कमी ल्याउने आशा गरिएको छ”, जिशिअ बराल भन्छन्।
तीला भण्डारी, मनाङ