समाचार सोमबार, साउन २७, २०७६

औपचारिक बैठक रोकेर अनौपचारिक सम्वादमा अध्यक्ष ओली

हिमालखबर

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सिंगापुरबाट फर्कनासाथ सचिवालय बैठक स्थगित गर्ने निर्णय लिएका छन् ।

विभागीय जिम्मेवारीबारे विवाद भएपछि दुई साताका लागि स्थगित नेकपा सचिवालय बैठक फेरि पनि सार्ने निर्णय सोमबार साँझ अध्यक्ष ओलीले लिए ।

अध्यक्ष ओलीले अनौपचारिक सम्वादका लागि औपचारिक बैठक स्थगित गरेका हुन् । अध्यक्ष ओलीले मंगलबार बिहानै बरिष्ठ नेता माधवकुमार नेपाललाई छलफलका लागि समय लिएका छन् ।

नेकपा स्रोतका अनुसार अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालसँग अनौपचारिक सम्वादमार्फत् सहमति जुटाउने प्रयास गरेका छन् । त्यसैअनुसार मंगलबार बिहान नेता नेपालसँग अध्यक्ष ओलीले सम्वाद गर्दैछन् ।

केन्द्रदेखि स्थानीय तहसम्म एकीकरण सकेको नेकपाले विभागीय प्रमुख तोक्न सकेको छैन । विषेशगरी स्कूल विभागमा विवाद छ ।

तत्कालीन माओआवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र तत्कालीन एमाले महासचिव ईश्वर पोखरेलले स्कूल विभागमा दावी गरेपछि नेकपाको एकता प्रक्रिया लम्बिदै गएको छ ।

प्रतिकृया दिनुहोस