समाचार सोमबार, साउन २७, २०७६

मोदी भूटान जाँदै, शरणार्थी फिर्तीकाे पहल गरिदिन आग्रह

हिमालखबर

भूटानी शरणार्थी प्रतिनिधिहरूले आउँदो साता भूटान भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाई भूटानमा अपहरित मानव अधिकारको बहाली तथा देशनिकाला गरिएका नागरिकको फिर्तीका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डा. भम्पा राईले २६ साउनमा पठाएको पत्रमा भूटानको शासकीय अत्याचार र राजनीतिक दमनका कारण एक लाख बढी भूटानी नागरिक शरणार्थी बनेको र उनीहरूको घर फिर्ती हुन नसकेको स्मरण गराउँदै छिमेकका नागरिकको न्यायपूर्ण नागरिक आन्दोलनमा भारतको साथ हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, हाल नेदरल्याण्डको हेगमा पुनर्वास भएका एकजना भूटानी अधिकारकर्मी राम कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २६ साउनमै पठाएको खुला पत्रमा भारतका विभिन्न ठाउँमा २५ हजार बढी भूटानीहरू अलपत्र हालतमा र पूर्वी नेपालका शिविरमा करीब ७ हजार भूटानी शरणार्थी रहेको स्मरण गराएका छन् ।

पत्रमा भूटानका कारागारहरूमा प्रजातन्त्र र राजनीतिक स्वतन्त्रता मागगर्दा जेल परेका १५० भन्दा बढी भूटानी राजबन्दी रहेको जानकारी गराइएको छ।

त्यस्तै, शरणार्थी र पुनर्वास भएका भूटानीका ८० हजार भन्दा बढी आफन्तलाई भूटानमा राज्यविहीन झैं बनाइएको तथ्य स्मरण गराइएको छ ।

पत्रमा विश्वको ठूलो प्रजातन्त्रिक मुलुकबाट उनीहरूको शान्तिपूर्ण एवं न्यायिक राजनीतिक आन्दोलनमा साथ पाउने अझै विश्वास लिएको उल्लेख छ।

भारतीय प्रधानमन्त्री मोदी यही ३१ साउनमा दुई दिने भूटान भ्रमणमा जाँँदैछन् । सन् १९४९ को भारत–भूटान सन्धि २००८ मा पुनरवलोकन हुनुपूर्व भूटानको परराष्ट्र, अर्थ र प्रतिरक्षा नीति भारतको इच्छा अनुसार निर्माण हुन्थ्यो ।

सन् १९९० आसपासका वर्षहरूमा भूटानमा भएको व्यापक सरकारी दमनपछि १ लाख बढी नेपालीभाषी भूटानी देशनिकाला हुँदा उनीहरूले भारतमा शरण पाएका थिएनन् ।

विगत वर्षहरूमा शरणार्थी मामिलामा निरपेक्ष बस्दै आएको भारतले कुनै नयाँ नीति लिनेमा आशावादी हुने अवस्था भने देखिंदैन ।

भूटानी शरणार्र्थी समस्या समाधानका लागि नेपाल र भूटान १५ औं चरणसम्म वार्तामा बसे पनि शरणार्थी फर्काउन भूटान तयार नभएपछि राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले तेस्रो देश पुनर्वासको ढोका खोलेको थियो ।

सन् २००८ मा शुरु भएको पुनर्वासमा १ लाख १३ हजार ५०० भूटानी शरणार्थी पश्चिमी देश गइसकेका छन् ।

प्रतिकृया दिनुहोस