विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने
संविधान संशोधन विधेयकको विरोधमा रहेका नेकपा एमालेसहित आठ दलको संयुक्त बैठकले उक्त विधेयक फिर्ता नलिएसम्म संसद् नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा आज बसेको आठ दलको बैठकका बारेमा जानकारी दिँदै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म विरोधका कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।
संविधान संशोधनको विधेयकमाथि विपक्षी दल मात्र नभएर सत्ता साझेदार दलका नेताहरुमा समेत असहमति देखिएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने विषयमा छलफल भएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको र सरकारले उक्त विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए ।
विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उनले थपे, “संविधाने संशोधन ५ नं क्षेत्रका जनता र संसद्ले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।”
बैठकमा नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः पार्टी, जनमुक्ति लोकतान्त्रिक पार्टी, मधेशी समता पार्टी गरी आठ दलका नेताहरु सहभागी थिए ।