चासोक तङनाम भव्यताका साथ मनाइँदै
किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ पाँचथर सहित पुर्वी नेपालमा धुमधाम साथ मनाइँदैछ ।
विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसीर पूर्णिमाका दिनमा नया अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।
न्वागी पूजा गर्न आज विहानैदेखि पाँचथर सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका किराँत मन्दिर हरुमा भीड लागेको छ ।
यसै अवसरमा किराँत याक्थुङ चुम्लुङले आज ऐतिहासिक स्थल हिलिहाङमा लिम्वुवानी बनभोज र चासोक तङनाम विशेष कार्यपत्र गर्नुका साथै सुम्जिरी सुम्हात्लुङ संरक्षण तथा विकास समितिले ९ किलोमिटर लामो मिनी म्याराथनको आयोजना गरेको छ ।
प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन ।
केही वर्षदेखि नेपाल सरकारले मंसीर पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।
बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा भव्यताका साथ मनाउने गरिएको छ ।
लक्ष्मी गौतम, पाँचथर