अर्थ/बजार मंगलबार, साउन २१, २०७६

धान रोपाइँ : यो वर्ष ४ प्रतिशत कम, अर्थतन्त्रलाई धक्का

हिमालखबर

प्रमुख बर्खे बाली धान रोप्ने समय सकिन लाग्दा ८६ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ ।

तस्वीरः बिक्रम राई

 कृषि विभागका अनुसार, धान रोपाइँ हुने १३ लाख ७२ हजार हेक्टर क्षेत्रफल मध्ये ११ लाख ८० हजार हेक्टरमा मात्र रोपाइँ सकिएको छ । रोपाइँ सकिएको क्षेत्रफल गत वर्षको यही अवधिको तुलनामा ३ दशमलव ६२ प्रतिशत थोरै हो ।

धान धेरै फल्ने तराई क्षेत्रमा ८५ दशमलव ६३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सकिएको छ । मनसुन अनुकूल भएको गत वर्ष भने यही अवधिमा तराईमा ८९ दशमलव ६० प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो ।

धान धेरै फल्ने जिल्लामा गत वर्षको तुलनामा रोपाइँ भएको क्षेत्रफल अझ थोरै छ । झापामा गत वर्षको १८ साउनसम्ममा ९० प्रतिशत भूभागमा रोपाइँ सकिएकोमा यो वर्ष ८५ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ ।

मोरङमा ७९ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ, जबकि गत वर्षको यही अवधिमा ८७ दशमलव ५० प्रतिशत खेतमा रोपाइँ भइसकेको थियो । गत वर्ष ९० प्रतिशत भागमा रोपाइँ सकिएको सुनसरीमा यो वर्ष ८० प्रतिशतमा मात्र रोपाइँ भएको छ ।

प्रदेश २ मा गत वर्ष ८४ दशमलव ४६ प्रतिशत भागमा रोपाइँ सकिएकोमा यो वर्ष ८२ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ ।

गत आर्थिक वर्षमा मौसमी अनुकूलताका कारण प्रमुख कृषि बाली धानको उत्पादनमा नयाँ रेकर्ड कायम भएको थियो । गत वर्ष धान उत्पादन ८ दशमलव ८९ प्रतिशतले बढ्दै ५६ लाख १० हजार मेट्रिक टन पुगेको थियो । धानको उत्पादन बढेका कारण गत आर्थिक वर्षको करिब ७ प्रतिशतको आर्थिक वृद्धिका लागि टेवा पुगेको थियो ।

यो वर्ष मनसुन नियमित अवधिभन्दा १० दिन ढिला गरी ५ असारमा नेपाल भित्रिएको थियो । मनसुन ढिला मात्र होइन्, यो वर्ष पर्याप्त पानी समेत परेको छैन । यसै पनि रोपाइँ ढिला हुँदा उत्पादन घट्छ । धान रोपाइँ समयमा हुन नसकेको तथा कतिपय क्षेत्रमा खेत कटानका कारण यो वर्ष उत्पादन गत वर्षभन्दा घट्ने अनुमान गरिएको छ ।

धान उत्पादन घट्दा अर्थतन्त्रको विस्तारको गति सुस्त हुन्छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान २७ दशमलव १० प्रतिशत छ । कृषिको कुल गार्हस्थ्य उत्पादनमध्ये धानको २१ प्रतिशत भूमिका रहेको आकलन छ ।

प्रतिकृया दिनुहोस