वीरगञ्जको घण्टाघर चिटिक्क पारियो
भूकम्पको क्षति र लामो समय चलेको मधेश आन्दोलनले कुरुप बनाएको वीरगञ्जको घण्टाघर मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ ।
मधेश आन्दोलनको मुख्य केन्द्र बनेको घण्टाघर चोकमा त्यसबेला सँधै जसो बालिने टायरको धुवाँले कालो भएको घण्टाघरको मर्मत र रंगरोगनका लागि उपमहानगरपालिकाले रु ९ लाख खर्च गरेर चिटिक्क पारेको छ ।
घण्टाघरको उत्तरपट्टि रहेको बाबा रामजनमको शालिक रहेको क्षेत्र पनि सफा पारिएको छ भने छेउमै रहेको टेलिकम कार्यालयको पर्खाल पनि सजाइएको छ ।
फिल्म तथा विभिन्न ईन्ष्टीच्यूटका पम्पलेट टाँसेर फोहोर भएको टेलिकमको भित्तोलाई रंगरोगन गरी पोष्टर पम्पलेट टाँस्नमा रोक लगाईएको छ ।
घण्टाघर तथा आसपासको क्षेत्रमा केही महीनाअघि पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठकै अगुवाईमा नगरपालिकाका कर्मचारी, विभिन्न क्याम्पसका विद्यार्थी र नगरबासी मिलेर सरसफाई गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज