पुसदेखि देशभरका अस्पतालमा १० प्रतिशत सेवा निःशुल्क
नीजि तथा सरकारी स्वास्थ्य संस्थाले विपन्न नागरिकका लागि १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । यो सेवा १ पुसदेखि लागु हुने स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए ।
सरकारले ‘गरिब परिचय पत्र’ नबाँड्दासम्म गाविस, नगरपालिका, जिविस, स्वास्थ्य मन्त्रालय वा वीर अस्पतालको सिफारिसमा सम्बन्धित स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा लिने व्यवस्था मिलाइएको मन्त्री थापाले बताए ।
निःशुल्क उपचार सेवा दिएको विवरणको रेकर्ड सबै स्वास्थ्य संस्थाले मन्त्रालयलाई बुझाउनु पर्नेछ । सो व्यवस्था अनुसार बिरामीले परामर्श, डायग्नोष्टिक, प्रयोगशाला, नर्सिङ, अक्सिजन, औषधी खर्च लगायतका शीर्षकमा निःशुल्क सेवा पाउनेछन् ।
स्वास्थ्य संस्था स्थापना, संञ्चालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धि निर्देशिका, २०७० अनुसार सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशतमा विपन्न, असाहय, बेवारिसे बिरामीलाई अनिवार्य निःशुल्क उपचार सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ ।
नीजि अस्पतालसँगको छलफलपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाले प्रदान गर्ने निःशुल्क सेवाका बारेमा कार्ययोजना सार्वजनिक गरेको हो ।
रामु सापकोटा