देउवा र ओलीबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा आज भएको भेटपछि नेपाली कांग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको बताए ।
संविधान संशोधनको विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ । सोही विषयलाई लिएर भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको जानकारी दिए ।
नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे सहमति भएको जानकारी दिए ।