‘प्रेसराइजेशन सिस्टम’ बिग्रिएपछि ५० माइल उडेर श्री एयरलाइन्सको विमान काठमाडौं फर्कियो
७२ यात्रु सवार श्री एयरलाइन्सको विमानमा ‘प्रेसराइजेशन सिस्टम’ बिग्रिएको सङ्केत पाएपछि पाइलटले बीच बाटोबाटै विमान काठमाडौं फर्काएका छन्।
काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै विमान काठमाडौं नै फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौं–धनगढी उडानको ड्यास आठ (–८) विमान विमानस्थलबाट उडेर ५० माइल पुगेपछि पाइलटले ‘प्रेसराइजेशन सिस्टम’ बिग्रिएको सङ्केत पाएका थिए।
त्यसपछि ७२ यात्रु सवार विमानले काठमाडौं फर्काएर सकुशल अवतरण गरेको थियो।
“बिहान धनगढी उडेको जहाज, प्रेसराइजेशन (जहाज हाइअल्टिच्यूडमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली)मा समस्या देखिएपछि ५० माइल उडेर पुनः काठमाडौं फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई बिहान १०ः३० बजे अर्कै जहाजको उडानबाट गन्तव्य लगिएको छ।”
त्रिभुवन विमानस्थलबाट विमान बिहान ८ः३० बजे धनगढीका लागि उडेको थियो। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले केही प्राविधिक मर्मतपछि विमान सञ्चालनमा आइसकेको बताए। - रासस