व्यवसायमा खुल्ला तथ्यांकको महत्वबारे छलफल
निजी क्षेत्र र खुला तथ्यांकबारे मंगलबार राजधानीमा छलफलको आयोजना गरिएको छ ।
फ्याक्ट्स रिसर्च एण्ड एनालिटिक्स् संस्थाद्वारा आयोजित कार्यक्रम ‘नेपालमा व्यापारका लागि खुला तथ्यांक’ र ‘व्यापार प्रक्रियामा खुला तथ्यांक’ विषयमा केन्द्रित गरिएको थियो ।
‘नेपालमा व्यापारका लागि खुला तथ्यांक’ शीर्षकको छलफलमा ईसेवाका असगर अली, नेपाल राष्ट्र बैंकका गुणाकर भट्ट, मीडिया नाइनकी चारु चडा मुख्य वक्ता थिए । कार्यक्रम सञ्चालन समृद्धि फाउन्डेसनका दिपेन्द्र चौलागाईले गरेका थिए ।
योङ इन्नोभेसन्स्का विभुषण विष्टले सञ्चालन गरेको ‘व्यापार प्रक्रियामा खुला तथ्यांक’ शीर्षकको दोस्रो छलफलमा भने टुटलका शिक्षित भट्ट, टिच फर नेपालका शिशिर खनाल र एग्रो नेपालकी सुनिता नेमाफुकीले आफ्नो विचार राखेका थिए ।
आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत मनिष झाका अनुसार, फ्याक्ट्स र डाटा फर डेभलपमेन्ट प्रोग्राम इन नेपालको हालै प्रकाशित ‘नेपालका निजी क्षेत्रका व्यवसायीद्वारा खुला तथ्यांकको माग, प्रयोग र आदान–प्रदान’ शीर्षकको प्रतिवेदनमा आधारित भई छलफल सञ्चालन गरिएको थियो ।
“यस्तो छलफलले व्यवसायमा खुला तथ्यांकको महत्व स्थापित गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्छ भन्ने विश्वास लिएका छौं”, झा भन्छन् ।