कालापानीबारे भारतसँग वार्ता गर्न प्रम दाहाललाई सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे वार्ता गर्न पूर्व परराष्ट्र मन्त्रीहरूले सुझाव दिएका छन्।
जेठ १७ गतेदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा उनीहरूले विभिन्न सुझाव दिएका हुन्। नेकपा (एमाले) उपमहासचिव समेत रहेको पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे गम्भीर भएर वार्ता गर्न आग्रह गरेको बताए।
“ऐतिहासिक तथ्यहरू, प्रमाणहरू, सन्धिहरू आदिले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालका भूभाग हुन भन्ने प्रस्ट छ। त्यसकारण ती भूभागहरू नेपालले प्रयोग गर्न पाउने गरी सीमा विवाद टुङ्गो लगाउनुपर्छ भन्ने विषय गम्भीरतापूर्वक राख्न प्रधानमन्त्रीज्यूलाई भनेका छौं,” ज्ञवालीले भने।
अर्का पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले आफूले सीमा समस्या समाधान गर्न जोडदिनुपर्ने सुझाव दिएको बताए। उनले भने, “सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीले आफूसित भएको प्रमाणहरू राम्ररी अध्ययन गरेर खुट्टा दह्रो पारेर कुरा गर्नुपर्छ।”
लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपाली भूभाग आफ्नो तिर पारेर भारतले सन् २०१९ मा नक्शा जारी गरेको थियो। त्यसपछि नेपालले पठाएको कुटनीतिक नोटलाई भारतले बेवास्ता गरेको थियो।भारत वार्ताबाट सीमा विवाद समाधान गर्न तयार नभएपछि नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्शा जारी गरेको थियो।