नक्कली शरणार्थी काण्ड राज्य विरुद्धको जघन्य अपराध: राप्रपा नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले नक्कली भुटानी शरणार्थी प्रकरण राज्य विरुद्धको जघन्य अपराध भएको भन्दै दोषीलाई कारबाहीका लागि खबरदारी गर्न आह्वान गरेको छ।
राप्रपा नेपालको बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकले नक्कली शरणार्थी प्रकरणमा गम्भीर हुन आग्रह गरेको हो। बैठकले यसमा संलग्न सबैलाई कानूनी कारबाहीको दायरमा ल्याउनुपर्नेमा जोड दिएको प्रवक्ता वसन्त मानसिंह अधिकारीले जनाएका छन्।
“नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्ड देशको प्रतिष्ठालाई गम्भीर आघात पुर्याउने राज्य विरुद्धको जघन्य अपराध हो,” राप्रपाको निर्णयमा भनिएको छ, “नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख राजनीतिक दल, नेता र राज्य संयन्त्र नै संगठित भ्रष्टाचार र अपराधमा संलग्न रहनु दुर्भाग्यपूर्ण छ। यस्तो घृणित अपराधमा संलग्न दोषीहरूले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन।”
यसमा इमानदार भएर काम गर्न सरकार र न्यायालयलाई राप्रपा नेपालले आग्रह गरेको छ। ‘यस सम्बन्धमा इमानदार बन्न सरकार र न्यायपालिकासँग राप्रपा नेपाल आग्रह गर्दछ,’ निर्णयमा भनिएको छ, ‘विगतमा राजनीतिक दबाब, प्रभाव र सेटिङका आधारमा भ्रष्टाचार काण्ड दबाउने गरिएको हुँदा यो काण्डको अन्तिम टुङ्गो नलागेसम्म निरन्तर खबरदारी गर्न सबै दल, नागरिक समाज, आमसञ्चारमाध्यम र सचेत नागरिकमा राप्रपा नेपाल अनुरोध गर्दछ।’
राप्रपा नेपालको विस्तारित बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘वर्तमान राजनीतिक अवस्था एवं राप्रपा नेपालको भावी वैचारिक, सांगठनिक एवं रणनीतिक कार्यदिशा’ सम्बन्धी कार्यपत्र पारित गरेको छ।
त्यस्तै, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण विभागको प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन, महामन्त्री केशवराज श्रेष्ठद्वारा प्रस्तुत युवाकेन्द्रित स्मार्ट पार्टी सम्बन्धी अवधारणा तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ।