पोर्चुगलमा सुतेकै अवस्थामा बाँकेका साराङकोटीको मृत्यु
पोर्चुगलमा बाँके खजुरा गाउँपालिका-१, चन्द्रनगरका गणेशमान साराङकोटीको मृत्यु भएको छ।
आठ महीनाअघि वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका-१, चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो।
बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान पोर्तीमाउस्थित कोठाको ओछ्यानमै मृतावस्थामा भेटिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन्।
साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई-माल्टा हुँदै आठ महीनाअघि पोर्चुगल पुगेका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।
परिवारको आग्रहमा उनको शव नेपाल पठाउन आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। (रासस)