अबैध उत्खनन् गरिरहेका २६ ट्रिपर र ३ एक्सकाभेटर प्रहरी नियन्त्रणमा
नवलपरासीको कावासोती, केरुङ्गे खोलाबाट अबैध रुपमा ढुंगा, बालुवा निकालिरहेका २६ ट्रिपर र तीन एक्सकाभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोलाबाट अवैधरुपमा ढुंगा, बालुवाको उत्खनन भइरहेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसाल सहितको टोलीले खोलाबाट अवैधरुपमा प्राकृतिक स्रोतको अवैध उत्खनन गरिरहेका २६ ट्रिपर, तीन ट्याक्टर र तीन वटा एक्सकाभेटर (जेसीबी )पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका सबै साधनलाई इलाका प्रहरी कार्यालय कावासोती राखिएको छ ।
स्मृति निर्माण सेवाले तीन बर्ष अगाडि केरुङ्गे खोलाका ठेक्कामा लिएकाबेलाको सामाग्री अझै पनि स्टक भएको भन्दै खोलाको दोहन गरेको गुनासो बढेपछि एक हप्ता अगाडि जिल्ला सरुवा भइ आएका एलडिओे भुसाल नै कारबाहीका लागि खोलामा पुगेका थिए ।
“खोलाको स्टक भनेर अबैध उत्खनन भएको पाईयो यसलाई हदै सम्मको कारबाही गर्छु” भुसालले भने ।
केरुङ्गे खोलाबाट मात्रै झण्डै रु १५ करोडको ढुङ्गा, गिट्टी, बालुवा, अबैध रुपमा बाहिरिएको स्थानीयबासीले अनुमान गरेका छन् ।
जिल्ला विकास समितिले तीन बर्ष देखि खोलाको ठेक्का नलगाउँदा पुरानो ठेक्काको आडमा ठेकेदारले खोलाजन्य सामाग्री उठाउँदै आएको हो ।
केरुङ्गे खोलाबाट प्राकृतिक स्रोतको अत्यधिक दोहनले गर्दा यसले वरपरका खेतियोग्य जग्गा र वस्ती वर्सेनी कटान गर्दै आएको छ ।
विद्रोही गिरी, नवलपरासी