नागरिक उन्मुक्तिको नेपाल बन्द फिर्ता
नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको आमहडताल कार्यक्रम फिर्ता लिएको छ।
टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी गराएपछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हिमालखबरलाई बताए। “प्रधानमन्त्रीले टीकापुर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने संसद्मा घोषणा गरेकाले आमहडताल फिर्ता लिएका हौं,” पण्डितले भने।
यससँगै नागरिक उन्मुक्तिले प्रेस विज्ञप्ति जारी गरेर पनि आमहडतालको कार्यक्रम फिर्ता लिएको जनाएको छ। फौजदारी विधेयक संसद्मा टेबल भइसकेको र कानून संशोधन गरेर भए पनि अन्य राजबन्दीको रिहाइ गर्ने प्रतिबद्धता जनाएकाले नेपाल बन्द फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ।