दश दिनपछि संसद्मा देखिइन् मञ्जु खाण
पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि मोबाइल अफ गरेर सार्वजनिक जीवनबाट टाढा रहेकी नेपाली कांग्रेस सांसद मञ्जु खाण १० दिनपछि संसद्मा उपस्थित भएकी छन्।
उनी शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उपस्थित भएकी हुन्। वैशाख २७ गते पूर्व गृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
मञ्जुले समेत गिरोहका सदस्यबाट साढे ६ करोड रुपैयाँ लिएको एउटा अडिओ क्लिप सार्वजनिक भएको थियो। त्यस्तै, कांग्रेस नेत्री एवं सांसद आरजु राणा देउवाले पनि दुई करोड रुपैयाँ लिएको अडिओमा संवाद गरिएको थियो।
यो अडिओ प्रहरी हिरासतमा रहेका सन्देश शर्मा र पीडितबीचको हो। दुई जनाबीचको अडिओमा तेस्रो व्यक्तिलाई मुछे पनि आरजु र मञ्जु संलग्न भएको प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न एक प्रहरीले अधिकृतले बताए।
वैशाख २७ गतेको संसद् बैठकमा बोल्ने नाम टिपाएर पनि मञ्जु अनुपस्थित रहेकी थिइन्। अन्य कुनै सार्वजनिक कार्यक्रममा नदेखिएकी उनी काठमाडौंमै लुकेर बसेको उनी निकट स्रोतले दाबी गरेको छ।