दरबार हत्याकाण्डको फेरि छानबिन हुनुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको फेरि छानबिन हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा जेठ ४ गते सांसदहरूको प्रश्नको जवाफ दिंदै दाहालले भने, “नेपालको इतिहासकै सबैभन्दा बीभत्स दरबार हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्दछ।”
२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो। त्यति वेला दरबार हत्याकाण्डको छानबिन पनि भएको थियो। छानबिन प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको थियो।
प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले मदन भण्डारी-जीवराज आश्रितको ज्यान गएको दासढुंगाकाण्ड र गौर हत्याकाण्डको पनि नयाँ शिराबाट अध्ययन छानबिन हुनुपर्ने बताए।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेकपा (एमाले)का महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ज्यान गएको थियो। त्यसको छानबिन गरिए पनि यथार्थ बाहिर आउन सकेको छैन।
त्यस्तै, २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए। दुवै पार्टीले आमसभा आयोजना गरेपछि झडप भएको थियो। झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।