दोषी देखिए जेल जान तयार छु: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी लडाकू शिविर घोटालामा दोषी देखिए जेल जान तयार रहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले दोषी देखिए जेल जान तयार रहेको बताएका हुन्। प्रतिनिधि सभाको बैठकमा सांसद ज्ञानेन्द्र शाहीले माओवादी लडाकूको शिविरमा भएको घोटालाका विषयमा प्रश्न गरेका थिए।
सांसदको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले भने, “क्यान्टोनमेन्ट घोटालामा दोषी देखिए जेल जान तयार छु।”
माओवादी लडाकूको शिविरमा घोटाला भएको आरोप लाग्दै आएको छ। यस सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो। लडाकूको नाममा सरकारले दिएको रकम माओवादी नेताहरूले दुरुपयोग गरेको उजुरीमा दाबी गरिएको छ।