एमडीएमएस लागू, दर्ता नभएका मोबाइल नचल्ने
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ लागू गरेको छ ।
लामो समयको तयारीपश्चात् प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो। प्राधिकरणको निर्णय अनुसार आजदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन सञ्चालनमा आउनेछैनन्। यस्तै वैदेशिक रोजगारीमा ६ महीना काम गरेर फर्किएका नेपालीले मात्रै दुई मोबाइल फोन ल्याउन पाउनेछन्।
भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महीना पूरा भएकाले मात्रै निःशुल्क रूपमा दुई मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ। विभागका अनुसार आजदेखि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउनेछन्।
श्रम स्वीकृति लिई लगातार ६ महीना काम गरी नेपाल फर्किंदा एक थान अतिरिक्त मोबाइल ल्याउँदा कुनै पनि भन्सार राजस्व बुझाउनु पर्दैन। उक्त फोन सञ्चालन गर्न भन्सार घोषणा गर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए।
उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएको प्रमाणस्वरूप राहदानी देखाएपछि एक मिनेटमा नै काउन्टरमा रहेका भन्सारका कर्मचारीले प्रज्ञापनपत्र दिनेछन्। “एमडीएमएस आजदेखि लागू भएको छ, भिसा लागेको राहदानीका आधारमा हामीले दुई मोबाइल फोन दर्ता गर्छौं,” उनले भने।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ वैशाखबाट इन्टरन्याशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न शुरू गरेको थियो। प्राधिकरणले पहिलो चरणमा आईएमईआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने तयारी गरेको थियो।
प्राधिकरणले अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रणाली जडान गर्न २०७४ वैशाख २८ गते परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरेको थियो। प्राधिकरणले आह्वान गरेको बोलपत्रमा १३ कम्पनीको आवेदन परेको थियो।
प्राधिकरणले आह्वान गरेको बोलपत्रमा आवेदन परेका १३ कम्पनीमध्येबाट २०७६ असारमा मात्रै ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट गरी ६ महीनाभित्र प्रणाली लागू गर्न अनुमति दिएको थियो। गत साउन १ गतेदेखि आंशिक रूपमा एमडीएमएस लागू गरेको प्राधिकरणले आजदेखि पूर्ण रूपमा लागू गरेको हो। (रासस)