पुष्पा बस्नेत 'सिएनएन सुपर हिरो'मा मनोनीत
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत 'सिएनएन सुपर हिरो'मा मनोनीत भएकी छन् ।
कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई यसअघि सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरिसकेको छ ।
केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।
बस्नेतसँगै 'सिएनएन सुपर हिरो'का लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयनमा परेका छन् ।
सिएनएन हिरो बनाउन आज र भोलि (आइतबार) cnnhero.com मा गएर मत दिन सकिने काठमाडौँमा मत अभियान चलाइरहेका गौरव कँडेलले बताए ।
नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे 'सिएनएन सुपर हिरो'बारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । रासस