नेपाल र भारतमा गरिएको कोरोना अध्ययन रिपोर्ट सार्वजनिक
पानोस साउथएशियाले नेपाल र भारतमा गरिएको कोरोनाभाइरस सम्बन्धी अध्ययन सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक गरिएको ‘दि पानडामिक पेपर्श केस स्टडी फ्रम ईन्डिया एन्ड नेपाल’ नामक रिपोर्टमा कोभिड-१९ को समयमा नेपाल र भारतमा खोप खरीद, व्यवस्थापन र वितरणमा के कस्ता चुनौती आएका थिए भन्ने उल्लेख छ।
रिपोर्टमा नेपालबाट पत्रकार रामु सापकोटा र भारतबाट रुक्मिनी एसले काम गरेका थिए। त्यस्तै रिपोर्टको सम्पादन एएस पनिरसेल्भन र पत्रकार रम्यता लिम्बुले गरेकी थिइन्।
रिपोर्ट सार्वजनिक कार्यक्रममा पत्रकार सापकोटाले कोभिड-१९ को समयमा नेपाल खोप व्यस्थापनमा चुकेको बताए। रिपोर्टमा सरकारले महामारीको समयमा खोप उपलब्ध गराउन नसकेको, उपलब्ध खोपलाई असमान ढंगले वितरण गरिएको र खोप उपलब्धता बढाउन सचेतना फैलाउन नसकेको उल्लेख छ। त्यस्तै, सरकारले खोप व्यवस्थापन समयमा गर्न नसक्दा कोरोना महामारीबाट धेरै क्षति भएको रिपोर्टमा उल्लेख छ।
नेपालमा जस्तै भारतमा पनि कोरोना महामारीको नियन्त्रणमा सरकारले त्रुटी गरेको औल्याइएको छ। कार्यक्रममा बोल्दै रुक्मिनी एसले भारतमा पनि खोप खरीद व्यवस्थापन र वितरणमा चुनौती आएको बताइन्।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले कोभिड-१९ को संक्रमण फेरि बढेकाले खोपको कभरेज बढाउनुपर्ने बताए। उनका अनुसार, कोभिड-१९ लामो समयसम्म रहिरहने भएकाले सरकारले बुस्टर डोजको कभरेज बढाउनुपर्ने बताए। “कोभिड-१९ फरकफरक भेरियन्टमा लामो समयमसम्म रहिरहने निश्चित छ, त्यसैले बुस्टर डोजको कभरेज र परीक्षण बढाएर सतर्कता अपनाउनुपर्छ,” डा कोइरालाले भने।
पानोस साउथएशियाले सार्वजनिक गरेको रिपोर्ट कोरोना महामारीको पहिलो र दोस्रो लहरसँग सम्बन्धित छ। त्यस वेला स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुंगाना थिए। ढुंगानाले यो रिपोर्टले त्यो वेला खोप खरीदमा झेल्नुपर्ने चुनौतीको विषयमा उल्लेख नगरेको बताए।
संसारभर अभाव भएको वेलामा खोप खरीद गर्न सरकारले गरेको प्रयास सह्रानीय भएको उनको भनाइ थियो। “त्यो वेला खोप व्यवस्थापन गर्न एकदम चुनौती थियो, त्यसका बाबजुत केही खोप ल्याउन हामी सफल भएका थियौं,” ढुंगानाले भने।