मिटरब्याज लेनदेनलाई फौजदारी अपराध घोषणा गर्न माग
मिटरब्याज सम्बन्धी सम्पूर्ण लेनदेनलाई कानून बनाएर फौजदारी अपराध घोषणा गर्नुपर्ने माग उठेको छ।
फौजदारी अपराध करार नगरेसम्म साहुकारसित नाजायज शर्तमा ऋण लिनुपर्ने अवस्था समाप्त पार्न नसकिने प्रगतिशील रूपान्तरण आन्दोलन र मार्क्सवादी एकता अभियानको निष्कर्ष छ।
आन्दोलनका श्याम श्रेष्ठ र अभियानका शम्भु कट्टेलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “सरकारले कानून नै बनाएर मिटरब्याजसँग सम्बन्धित हुने कुनै पनि लेनदेनलाई फौजदारी अपराध घोषित गरिनुपर्दछ।”
निरपेक्ष गरीबी निवारण गर्ने मूर्त र प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग छ। सरकारले एउटा शक्तिशाली आयोग गठन गरेर नेपालभरिका मिटरब्याजसँग सम्बन्धित सबै जाली तमसुक र यसका साहुकारबारे मिहिन ढङ्गले छानबिन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
दुई सातादेखि निरन्तर अन्दोलनरत पीडितहरूको माग सम्बोधनमा चासो नदेखाउँदा नेपाल सरकारको इमान र विश्वसनीयतामाथि ठूलो प्रश्नचिह्न खडा भएको उनीहरूको ठहर छ।