सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा इन्सेकको आशङ्का
मन्त्रिपरिषद् बैठकले फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको सूचीमा भएकामध्ये दुई हजारभन्दा बढीको नाम फेला नपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ।
सरकारले राजपत्रमा प्रकाशन गरेकामध्ये इन्सेकको अभिलेखमा रहेका ६ हजार १४ जनाको नाम फेला परेको तर दुई हजार ४५६ जनाको नाम फेला नपरेको जनाएको छ।
इन्सेक अध्यक्ष कुन्दन अर्यालले चैत १६ मा विज्ञप्ति जारी गरी फेला परेकामध्ये राज्यपक्षबाट मारिएका चार हजार ९५० जना र अन्य पक्षबाट मारिएका एक हजार ६४ जना छन्।
शहीद घोषणा गरिएका लुम्बिनी प्रदेशका एक हजार ५६७ मध्ये आफ्नो अभिलेखमा ६०८ जना समाविष्ट रहेको इन्सेकले उल्लेख गरेको छ। त्यस्तै, सुदूरपश्चिमका एक हजार पाँच जना शहीदमध्ये इन्सेकको द्वन्द्वपीडित पार्श्वचित्रमा रहेका ७८९ को नाम छ।
इन्सेकको अभिलेख अनुसार २०५२ फागुन १ देखि २०६३ मंसीर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट गरी देशभर १३ हजार २४८ जनाको ज्यान गएको थियो। जसमा राज्यपक्षबाट सात हजार ९०५ जना र अन्य पक्षबाट पाँच हजार ३४३ को हत्या भएको थियो।
गैरराज्यपक्षबाट हत्या भएका पाँच हजार ३४३ जनामध्ये माओवादीबाट पाँच हजार ४९ जनाको हत्या भएको इन्सेकले जनाएको छ।