तीन मन्त्रालय नदिएसम्म नाम पठाउँदैनौं: जगन्नाथ खतिवडा
नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालय नपाउँदासम्म मन्त्रीको नाम नपठाइने बताएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले भने, “कसलाई पठाउने भन्ने तय भइसकेको छ। तीन वटा मन्त्रालय नदिएसम्म नाम पठाउँदैनौं।”
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालय दिने प्रस्ताव गरेका थिए। त्यसमा असहमति जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीन वटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए।
गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालको छुट्टै छलफल भएको थियो। त्यसमा प्रधानमन्त्री दाहालले पहिलो चरणमा एक जनाको नाम पठाउन आग्रह गरेका थिए।
त्यसपछि आकस्मिक रूपमा बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल भएको प्रवक्ता खतिवडाले बताए।
“हामीले तीन वटा मन्त्रालयको दाबी गरेका छौं। तीन वटा मन्त्रालय प्राप्त भइसकेको छैन र मन्त्रालयको पनि टुङ्गो लागिसकेको छैन,” प्रवक्ता खतिवडाले भने, “प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसिरहेका छौं। कुनै पनि वेला निर्णय गर्ने गरी तयार भएर बसिराखेका छौं।”
यसअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने पहिलो चरणमा प्रकाश ज्वालालाई पठाउने निर्णय भएको बताएका थिए।