मन्त्रालयको भागबन्डा नमिल्दा गठबन्धनको बैठक निष्कर्षविहीन
मन्त्रालयको भागबन्डा नमिलेपछि सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारे पेश गरेको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएका हुन्।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई आठ, नेकपा (माओवादी केन्द्र)लाई पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन, एकीकृत समाजवादी र जसपालाई दुई-दुई तथा अन्य पार्टीलाई एक-एक मन्त्रालयको प्रस्ताव गरेका थिए।
त्यसमा एकीकृत समाजवादी र जसपाले असहमति जनाउँदै तीन-तीन मन्त्रालय माग गरेका थिए। कांग्रेसलाई घटाएर एकीकृत समाजवादीलाई एक मन्त्रालय थप्ने विषयमा छलफल भएको थियो।
तर, कांग्रेसले आठभन्दा तल नघट्ने र एकीकृत समाजवादीले तीन मन्त्रालय चाहिने दाबी गरेपछि छलफल निष्कर्षविहीन भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता रामेश्वर राय यादवले संयुक्त बैठकमा कुरा नमिलेपछि छुट्टाछुट्टै छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए।
सत्तारूढ गठबन्धनमा १० दल छन्। उनीहरूबीच भागबन्डा मिल्न सकेको छैन। जसले गर्दा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोडेको एक महीना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।