त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदै छ।
त्रिविका ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो। मतदानका लागि आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म समय निर्धारण गरिएको त्रिविले जनाएको छ।
दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन्। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन। २०७३ मा निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा २०५१ चैत १८ यता जन्ममिति भएका विद्यार्थीले उम्मेदवार हुन पाउनेछन्। स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने छन्।