बेलायतले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गर्ने समझदारी
बेलायतले नेपाललाई नौ करोड पाउन्ड (करीब १४ अर्ब ४० करोड रुपैयाँ) सहयोग गर्ने भएको छ।
अनुदान सहयोग सम्बन्धी सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ। अर्थसचिव तोयम राय र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत यो सहयोग रकम परिचालन हुनेछ। नेपाल सरकार र बेलायती सरकारको साझेदारीको यो कार्यक्रमले १७ लाख नेपालीलाई दिगो र समावेशी पूर्वाधारको पहुँच दिलाउन सहयोग गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बेलायतले यो कार्यक्रमका लागि भविष्यमा नौ करोड पाउन्ड (करीब १४ अर्ब ४० करोड रुपैयाँ) रकम सहयोग गर्ने उल्लेख गरिएको छ। यो कार्यक्रममा नेपाल सरकारको पनि ६ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो कार्यक्रम सन् २०२३ देखि २०२९ सम्म कार्यान्वयन गरिनेछ।
खास गरी स्थानीय तहहरूमा खानेपानी, सिंचाइ, ठोस फोहरमैला व्यवस्थापन जस्ता काममा यो रकम खर्च गरिने जनाइएको छ। सहयोग रकमले करीब ६० लाख व्यक्तिलाई एक दिनको रोजगारी सिर्जना गर्नेछ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै बेलायती राजदूत निकोला पोलिटले नेपाल र बेलायतबीच लामो ऐतिहासिक सम्बन्ध तथा विकासमा साझेदारी रहेको बताउँदै स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा गरिएको साझेदारीले स्थानीय बासिन्दाको जीवनमा सकारात्मक प्रभाव ल्याउने अपेक्षा गरेको बताइन्।