रहेनन् नेपाली जलविद्युत्का अगुवा
अड हफ्टन जलविद्युत्का अगुवा मात्र थिएनन्, दक्ष जनशक्ति निर्माणका मार्गदर्शक पनि थिए।
नेपालको जलविद्युत् विकास र दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण योगदान गरेका नर्वेली इन्जिनीयर अड हफ्टन अब रहेनन्। १४ मार्च (फागुन ३०)मा ९५ वर्षको उमेरमा नर्वेमै हफ्टनको निधन भएको उनका निकटस्थले जानकारी दिएका छन्।
सन् १९२७ मा जन्मिएका हफ्टन सन् १९५८ मा पहिलो पटक नेपाल आएका थिए। नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडमा लामो समय मानव संशाधन प्रमुख रहेका हफ्टनका शिष्य एवं सहकर्मी दुर्गाप्रसाद शर्माका अनुसार, उनी शुरूमा पाल्पा मिशन अस्पताल निर्माण कार्यका लागि आएका थिए।
“युनाइटेड मिसन टु नेपाल मार्फत स्थापना गरिएको त्यस अस्पतालमा आउनुभएकी एक नर्स उहाँको परिचित हुनुहुन्थ्यो। उनै नर्स मार्फत हफ्टन आउनुभएको थियो,” शर्मा भन्छन्। इलेक्ट्रिक इन्जिनीयर भए पनि सिभिल इन्जिनीयरिङको पनि ज्ञान भएकाले उनलाई बोलाइएको थियो।
इसाई धर्म प्रचार समेत गर्ने उद्देश्यले स्थापना गरिएको अस्पताल निर्माणका लागि आवश्यक दक्ष जनशक्ति नपाएपछि उनले नेपालमै जनशक्ति तयार गर्ने सोच बनाए। त्यसका लागि एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना बनाए।
बुटवलका पुराना पत्रकार अर्जुन ज्ञवालीका अनुसार, तालीमका साथै रोजगारी पनि दिने सोच राखी ७ नोभेम्बर १९६२ मा ‘एन इन्स्टिच्यूट अफ टेक्नोलोजी एन्ड इन्ड्रस्टियल डेभलपमेन्ट’ (आईटीआईडी) स्थापना गर्ने सम्झौता भयो।
संस्थाका लागि तत्कालीन खस्यौली (हालको बुटवल) मा चार हेक्टर बराबरको प्लट उपलब्ध गराइयो। जग्गा पाएपछि संस्थाको नाम ‘बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई)’ राखी सन् १९६४ बाट तालीम दिन शुरू गरिएको थियो।
“त्यो संस्था ट्रेनिङ अफ जब (काममै तालीम) अवधारणा अनुसार खोलिएको थियो। त्यसैले बीटीआईमा मशिन शप, वेल्डिङ शप, इलेक्ट्रिकल शप लगायत वर्कशपहरू बने। मिशन मार्फत नर्वे, जर्मनी लगायत विभिन्न देशबाट दक्ष व्यक्तिहरू ल्याइए। कक्षा ८ उत्तीर्ण गरेका युवालाई त्यहाँ काम गर्न र तालीम लिन आह्वान गरियो। त्यसरी दक्ष जनशक्ति तयार पार्ने जग हफ्टले बसाए,” शर्मा भन्छन्।
हफ्टनको अर्को महत्त्वपूर्ण योगदान हो, नेपालमा जलविद्युत्को विकास। बीटीआई सञ्चालनका लागि डिजेल जेनेरेटर प्रयोग गरिन्थ्यो। विद्युत्को स्थायी आपूर्तिका लागि हफ्टनले नेपालमै विद्युत् उत्पादन गर्ने योजना बनाए। हफ्टनकै अग्रसरतामा युनाइटेड मिशन नेपालको दुई तिहाइ र नेपाल सरकारको एक तिहाइ शेयर रहने गरी सन् १९६५ मा ‘बुटवल पावर कम्पनी प्रालि’ स्थापना भयो।
सोही कम्पनी मार्फत बुटवल हुँदै बग्ने तिनाउ नदीबाटै विद्युत् उत्पादन गर्ने उद्देश्यले ‘तिनाउ हाइड्रो पावर प्रोजेक्ट’ शुरू भयो। “उक्त हाइड्रोपावरका लागि चाहिने ठूला मशिन नर्वेबाट ल्याइएको भए पनि अरू सामग्री बीटीआईमै तयार पारिएको थियो,” शर्मा सुनाउँछन्।
यसरी आफैंले तयार पारेको जनशक्ति र केही बाहेक स्थानीय स्तरमै तयार पारिएका सामग्रीको भरमा नेपालमै पहिलो पटक सुरुङ प्रणालीमा आधारित जलविद्युत् परियोजना सम्पन्न भयो। स्थानीय स्तरमै एक मेगावाट विद्युत् उत्पादन भएपछि बीटीआईमा रहेका कार्यशाला उद्योगका रूपमा विकास भए।
लेखक ज्ञवालीले उल्लेख गरे अनुसार, ‘बुटवल प्लाइउड फ्याक्ट्री’, ‘गोबर ग्यास प्रालि’, ‘बुटवल इन्जिनीयरिङ वर्क्स’, ‘बुटवल उड इन्डस्ट्रिज प्रालि’, ‘हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनी’ र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक प्रालि जस्ता उद्योग र कम्पनीहरू सन् १९७२ देखि १९८५ को बीचमा स्थापना भए। तीमध्ये अधिकांश बन्द भइसकेका छन्।
बुटवल पावर कम्पनीले भने अन्यत्र पनि ससाना क्षमताका जलविद्युत् परियोजना निर्माण गर्यो। “पाँच मेगावाटको आँधीखोला हाइड्रोपावर, १२ मेगावाटको झिमरुक हाइड्रोपावर र ६० मेगावाटको खिम्ती हाइड्रोपावर प्रोजेक्ट बुटवल पावर कम्पनीले बनायो,” शर्मा बताउँछन्।
सन् १९९५ मा आफ्नै देश फर्किएका हफ्टन नेपालबाट पर भने रहेनन्। उनले मार्टिन चौतारी जस्तो गैरसरकारी अनुसन्धान संस्था स्थापनाका लागि सघाए। “अन्तिम समयसम्म पनि हफ्टन नेपालबारे चासो र चिन्ता राख्थे,” शर्मा भन्छन्।