काठमाडौंका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा
काठमाडौं महानगरपालिकाका सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा पाइने भएको छ।
सेवाग्राहीका तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रत्युत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाबारे मौखिक वा लिखित जानकारी निःशुल्क दिइने महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।
हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबलकुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।
कानूनी परामर्श सेवा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले दिनेछन्। यसका लागि महानगर र क्याम्पसबीच गत माघ १७ गते सम्झौता भएको थियो। सेवा उपलब्ध गराउन क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको सूचना अधिकारी आचार्यले बताए।
क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने महानगरले जनाएको छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।
विद्यार्थीहरूले वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउनेछन्।