उपराष्ट्रपतिको उम्मेदवारबारे १० दलबीच सहमति जुटेन
उपराष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति नजुटेपछि दश दलीय गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको १० दलको बैठकमा सहमति जुट्न नसकेको नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता बस्नेतले भने, “उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छ। आज सहमति हुन सकेन। भोलि बैठक बसेर टुङ्गो लाग्छ।”
गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएका छन्। जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी उम्मेदवार छन् भने जनमतबाट ममता झा उपराष्ट्रपतिको उम्मेदवार बनेका छन्।
गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए। त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवारलाई साझा उम्मेदवार बनाउनुपर्ने धारणा राखेका थिए। त्यसमा आफ्नो उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिएका थिए।
उपराष्ट्रपतिमा महिलालाई साझा उम्मेदवार बनाउनुपर्नेमा अन्य दलका नेताको पनि धारणा थियो। जसले गर्दा गठबन्धनको बैठकमा सहमति जुट्न नसकेको जनाइएको छ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाह लगायत नेता सहभागी थिए।