सरकारलाई आठ महीनामा डेढ खर्ब घाटा
चालू आर्थिक वर्षको आठ महीनामा सरकारले आम्दानीभन्दा डेढ खर्ब बढी खर्च गरेको छ।
चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको छ। यो अवधिमा राजस्व सङ्कलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरण अनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ। यो अवधिमा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ।
चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। तर, लक्ष्य अनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार १४ प्रतिशत अर्थात् दुई खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ।
शुरूआती विनियोजित बजेटको तुलनामा आठ महीनाको बजेट खर्च ४३.४४ प्रतिशत मात्रै छ। अर्थात् फागुन मसान्तसम्म सरकारले कुल सात खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ।
यस अवधिमा सरकारको चालू खर्च ५१.४६, पूँजीगत खर्च २२.१५ र वित्तीय व्यवस्थातर्फको खर्च ३७.४१ प्रतिशत छ। चालूगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म ६ खर्ब आठ अर्ब ८४ करोड ४५ लाख बराबर छ।
त्यस्तै, पूँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२.१५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ। महालेखा नियन्त्रकको तथ्याङ्क हेर्दा आठ महीना अवधिमा पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ।
फागुन मसान्तसम्म सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत बराबर मात्रै छ। चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको छ। जसमध्ये आन्तरिक राजस्व सङ्कलन ४१.५३ प्रतिशत अर्थात् पाँच खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ।
यस वर्ष ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ।- रासस