‘हिमाल’ को चैत अङ्क- ‘नेपाली सेनाः भद्दा आकार, काम व्यापार’
के देशको सुरक्षा गर्नुपर्ने मूलभूत जिम्मेवारी पाएको सेना 'व्यापारी' बन्दै जानु सही हो त?
जस्तो नेपाल छ, जत्रो नेपाल छ, त्यसका लागि एक लाख सेना आवश्यक छ त?
छैन।
कहिले बाटो बनाउने ठेक्का, कहिले निजी सरह मेडिकल कलेज, कहिले मिनिरल वाटर उद्योगको योजना अनि सके ब्यांक खोल्ने महत्त्वाकांक्षा। के देशको सुरक्षा गर्नुपर्ने मूलभूत जिम्मेवारी पाएको सेना 'व्यापारी' बन्दै जानु सही हो त?
बिल्कुलै होइन।
भोलि प्रकाशन हुने मासिक हिमालको नयाँ अङ्कको आवरण स्टोरी नेपाली सेनाका यिनै दुई पक्षमा केन्द्रित छ, जसमा हाम्रा वरिष्ठ विशेष संवाददाता मनबहादुर बस्नेतको आवरण रिपोर्ट ‘कस्तो सेना? कत्रो सेना?’ ले सेनाको आकार अनुसारको क्षमता, गैरसैनिक गतिविधि, समात्नुपर्ने बाटोमा केन्द्रित छ।
यस बाहेक सुरक्षा विश्लेषक इन्द्र अधिकारी, सफल घिमिरे, अंगराज तिमिल्सिना, पूर्व रक्षा सचिव वामनप्रसाद न्यौपाने, पूर्व अर्थमन्त्री युवराज खतिवडा, सैनिक सेवाबाट प्राज्ञिक सेवामा संलग्न सुरेन्द्रसिंह रावल, सुरेश शर्माले सेनाको आधारभूत चरित्र, भूमिका, आधुनिकीकरण, लोकतन्त्रीकरणबारे आफ्ना गहन विचार प्रस्तुत गरेका छन्।
साथै अर्थतन्त्रका लागि ‘सेतो हात्ती’ बनेको द्रुतमार्ग निर्माणमा सेनाका गल्ती अनि र प्रकृति संरक्षणमा सेना सहभागिताका प्रश्न पनि उठान गरिएको छ।
यस बाहेक बढ्दो बसाइँसराइले निम्त्याएको जनसंख्याको भौगोलिक असन्तुलनबारे गोपाल दाहालको विशेष रिपोर्ट, अमेरिकी मानवशास्त्री स्टेफन माइकसेलसँगको अन्तर्वार्ता, मधुसूदन सुवेदीको लेखनीमा प्रसिद्ध जनस्वास्थ्यविद् मथुराप्रसाद श्रेष्ठको जीवनी तथा फोकल्यान्ड युद्धका गोर्खाली योद्धा शंकर राईको अनुभूति यस अङ्कका अतिरिक्त खुराकका रूपमा छन्।
द्वन्द्वकालका मुद्दामा सर्वोच्च अदालतको आदेशको अर्थबारे संविधानविद् विपिन अधिकारी, सम्पत्ति शुद्धीकरणमा नेपाल कालोसूचीमा पर्न सक्ने जोखिमबारे विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की, बलात्कार सम्बन्धी कानूनका कमजोरीबारे अधिवक्ता रुकमणी महर्जन, राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीमै सीमित गर्नुपर्ने ऐतिहासिक आधारबारे अध्येता उद्धव प्याकुरेल, नेपाली सञ्चार माध्यममा स्वार्थका टकरावका असरबारे प्राध्यापक भानुभक्त आचार्य, दक्षिणएशियामा अल्पसंख्यकमाथिको विभेदमाथि अनुसन्धाता अपूर्वा बराल, संजित श्रेष्ठ र सुदेश्ना थापा तथा लेखक शेखर खरेलकाे सामयिक सामाजिक विश्लेषण समेत प्रकाशित छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानको नयाँ नियुक्तिको सन्दर्भमा लेखक भिक्टर प्रधानको ‘प्रज्ञा प्रतिष्ठान र तुर्किस्थान’ शीर्षकको टिप्पणी, विज्ञान–लेखक कमल मादेनको ह्याप्लोग्रूपबारे परिचयात्मक लेख, सेवा भट्टराईको कौरा सङ्गीतमाथिको चासो र चिन्ता, गणेश खनिया र विराट अनुपमका पुस्तक चर्चा पढ्न सकिनेछ।
अन्तिम पृष्ठमा कनक दीक्षितको उकालो स्तम्भ, शीर्षक रहेको छ– ह्वाट्सएप, मेसेन्जर कि सिग्नल?
पठन सुखद रहोस्!