रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपतिलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ।
फागुन २५ गते भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएका हुन्। उनले ३३ हजार ८०२ मतभार प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।
राष्ट्रपति पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गरिएको छ। राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरू र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष सहभागी थिए।
त्यस्तै, उपप्रधानमन्त्री, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता सहभागी थिए।