आयोगलाई यादवको जवाफ: उपराष्ट्रपतिमा महिला हुनुपर्ने बाध्यकारी व्यवस्था छैन
जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले निर्वाचन आयोगलाई पठाएको जवाफमा उपराष्ट्रपतिमा महिला हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जिकिर गरेका छन्।
जसपाको उपराष्ट्रपतिका उम्मेदवार यादव विरुद्ध नेकपा (एमाले)बाट उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश वर्तौलाले उजरी दिएका थिए। राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै जसपाबाट यादवले दिएको उम्मेदवारी खारेज गर्न माग गरेका थिए।
त्यसमा निर्वाचन आयोगले यादवसँग जवाफ मागेको थियो। जसपाका उम्मेदवार यादवले आइतबार बिहान आयोगलाई जवाफ पठाएका हुन्।
यादवले संविधानको धारा १८ को जिकिर गर्दै जवाफमा भनेका छन्, “कसैले पनि कानूनको समाजन संरक्षणबाट बञ्चित गरिने छैन। साथै सोही धाराको उपराधा ३ मा राज्यले नागरिकहरूको बीच उत्पत्ति, धर्म, वर्ण, जात, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा अन्य कुनै आधारमा भेदभाव गरिने छैन भी व्यवस्था गरेको छ।”
संविधानमा पनि राष्ष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको भन्ने उल्लेख भएकाले आफ्नो उम्मेदवारी संविधान सम्मत रहेको उनको दाबी छ। उनले भनेका छन्, “महिला उम्मेदवार मात्र हुने संवैधानिक र कानूनी व्यवस्था संविधान, ऐनमा बाध्यकारी छैन।”
निर्वाचन आयोगले उजुरीमाथि जाँच गरेर आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।