उपराष्ट्रपति उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन
उपराष्ट्रपति पदको उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुने भएको छ।
उम्मेदवार विरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाले मनोनयन दर्ता गरेका छन्। सत्तारुढ गठबन्धनबाट तीन जना र एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएकी छन्।
उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी शाक्यका प्रतिनिधि महेशकुमार वर्तौलाले जसपाका रामसहाय यादव विरुद्ध उजुरी दिएका छन्। उजुरीमा यादवको उम्मेदवारी संविधन विपरीत भएको जिकिर गरिएको छ। नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने दाबी गरिएको छ।