उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
उपराष्ट्रपतिको निर्वाचनका लागि गठबन्धन र नेकपा (एमाले)का गरी चार जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, उपराष्ट्रपतिका लागि मनोनयन दर्ता गर्न तोकिएको समयमा चार जनाको मात्रै उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय यादव र प्रमिला यादवले उम्मेदवारी दिएका छन्। त्यस्तै, गठबन्धनमै रहेको जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्। यसैगरी, एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्।
रामसहायको प्रस्तावकमा अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन्। गठबन्धन रहेका दलका सांसद प्रस्तावक र समर्थक बनेका छन्।
त्यस्तै, सांसद प्रमिलाको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन छन्। उनको उम्मेदवारी दर्ता गर्दा पनि गठबन्धनका दलका सांसद प्रस्तावक र समर्थक बसेका छन्।
गठबन्धनकै अर्को घटक जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रुपाकुमारी यादव छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्। उनको उम्मेदवारी दर्ता गर्दा पनि गठबन्धनका सांसद प्रस्तावक र समर्थक बनेका छन्।
त्यस्तै, एमालेबाट उम्मेदवार बनेकी शाक्यको प्रस्तावक केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल छन्।
निर्वाचन अधिकृतको कार्यालयले फागुन २७ गते बिहान ९ देखि दिउसो २ बजेसम्म उम्मेदवारी दर्ताको तोकेको थियो। अब फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय दिइएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।