नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन
नयाँ राष्ट्रपतिका चयनका लागि आज मतदान हुँदै छ। मतदान नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने छ।
बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। निर्वाचन सकिए लगत्तै मतगणना शुरू गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। मतदानका लागि संघीय सांसद र प्रदेश सभा सदस्यको बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्बाङ प्रतिस्पर्धामा छन्। पौडेल नौ दलका तर्फबाट उम्मेदवार हुन् भने नेम्बाङ एमाले हुन्।
राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता छन्। जसमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सदस्य छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।