समाचार आइतबार, असार २९, २०७६

गाैतमबुद्ध विमानस्थल निर्माणको अवधि ६ महीना थप

रासस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि छ महिना थपिएको छ । 

विमानस्थल निर्माणको करिब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न १६ पुससम्म अवधि थप गरिएको नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।

निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उनको भनाइ छ ।

“आगामी पुससम्म सबै काम सक्ने योजनाका साथ काम भइरहेको छ,” उनले भने “अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी बे’ को निर्माण भइसकेको छ। अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटिङ्ग’ को काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ ।”

प्राधिकरणका अनुसार तीन हजार ६० मिटरको धावनमार्ग निर्माण सकिएसँगै विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ ।

डिसेम्बर २०१७ मा निर्माण सक्ने लक्ष्यसहित ३१ डिसेम्बर २०१४ बाट निर्माण शुरु गरिएको विमानस्थल निर्माणको लागि यो सहित तीनपटक म्याद थप भएकाे छ । 

छ अर्ब २२ करोड ५१ लाख लगानी रहेको उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । 

विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ ।

प्रतिकृया दिनुहोस