प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
चार दलले पुरानो गठबन्धन ब्युँताउने तयारी गरिरहेको वेला प्रधानमन्त्री दाहाल र ओली छलफलमा बसेका हुन्। यसअघि आजै बिहान नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो।
चारै दल एकै ठाउँमा उभिने मोटामोटी सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका थिए। त्यसका लागि आजै साँझ ५ बजे चार दलको बैठक बस्ने तय भएको थियो।
पुरानो गठबन्धनमा रहेका चार दलको बैठक बस्नुअघि एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन्। बालुवाटारमा दुवै नेताबीच छलफल चलिरहेको छ।