गठबन्धनबारे केही टुङ्गो लागेको छैन, भोलि ओलीजीसँग संवाद गर्छुः दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेकै सत्ता गठबन्धन कायम रहने कि नयाँ गठबन्धन बन्ने भन्ने विषयमा अझैसम्म कुनै पनि सहमति नभएको बताएका छन्।
कतिपय सञ्चार माध्यमले पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भइसकेको समाचार प्रकाशित गरिरहेका वेला दाहालले त्यस्तो कुनै पनि सहमति नभएको दाबी गरेका हुन्। फागुन ११ गते बेलुकी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूसँगको छलफलपछि उनले भने, “छलफल चलिराखेको छ, फाइनल भैसकेको छैन।”
फागुन १२ गते नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो छलफल हुने पनि दाहालले बताए। “भोलि मेरो एमाले अध्यक्षसँग पनि कुराकानी छ,” उनले भने।
त्यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि दाहालले सबैसँग छलफल चलिरहेको तर सहमति केही पनि भएको बताएका थिए।
पुरानो गठबन्धन ब्युँतिन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “हैन, अहिले फाइनल छैन केही पनि। (हाँस्दै) १३ गतेसम्म टुङ्गिहाल्छ।”