‘पुरानो गठबन्धन ब्युँताउने सहमति भइसकेको छैन’
विभिन्न दलका नेताहरूले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धन ब्युँताउने सहमति नभएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनका विषयमा भएको छलफल टुङ्गोमा पुगिनसकेको बताए। पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो त भन्ने प्रश्नमा श्रेष्ठले भने, “त्यस्तो केही सहमति भइसकेको छैन। अरू शक्तिसँग पनि हामीले छलफल जारी राखेकै छौं।”
बुधबार बालुवाटारमा भएको छलफलमा कांग्रेस र माओवादीले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)सँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए। नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा लगायतसँगको छलफलपछि मात्रै सहमतिमा पुग्न सकिने श्रेष्ठको भनाइ छ।
उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल पनि निष्कर्षमा पुगिनसकेको बताए।
जसपा अध्यक्ष उपेन्द्र यादवले पुरानो कि नयाँ गठबन्धन भन्नेमा छलफल प्रवेश नै नगरेको बताए। प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहालसँगको छलफलपछि यादवले भने, “सरकारमा भएका दलहरू को कता भन्ने स्पष्ट नहुँदासम्म नयाँ वा पुरानो गठबन्धन भन्नुको के अर्थ हुन्छ र?”
जसपा अध्यक्ष यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन दाहाल सकारात्मक देखिएको दाबी गरे।