राष्ट्रपतिबारे दाहाल र नेपालबीच डेढ घण्टा वार्ता
राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच डेढ घण्टा भेटवार्ता भएको छ।
सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा दाहाल र नेपालबीच भेटवार्ता भएको हो। दुवै नेताबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ।
दुवै जनाबीच राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न विकल्पमा छलफल भएको नेपालले बताए। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले भने, “विभिन्न विकल्पमाथि छलफल जारी रहेको छ।”
गत पुस १० गते नयाँ गठबन्धनको सरकार निर्माण हुँदा राष्ट्रपति नेकपा (एमाले)लाई दिने सहमति भएको थियो। जस अनुसार, एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिंदै आएको छ।
तर, प्रधानमन्त्री दाहाल भने नेपाली कांग्रेससँगै पुरानो गठबन्धनका नेताहरूसँग छलफलमा व्यस्त छन्। उनले फागुन १० गते साँझ कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए। कांग्रेस नेताहरूले पुरानो गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए। त्यसमा सकारात्मक देखिएका दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग थप छलफल गर्ने बताएका थिए।
त्यही अनुसार, आज प्रधानमन्त्री दाहालले अध्यक्ष नेपालसँग छलफल गरेका हुन्। नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै छलफल चलिरहेको बताए।
पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो त भन्ने प्रश्नमा दाहालले भने, “अहिले फाइनल भएको छैन।”
कांग्रेसको नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर चुनावमा गएका थिए। चुनावपछि भने माओवादीले एमालेसँग मिलेर सरकारको नेतृत्व गरिरहेको छ भने अन्य चारै दल विपक्षी गठबन्धनमै छन्।
प्रधानमन्त्री दाहालसँगको छलफलपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले छलफल चलिरहेको र छिटै टुङ्गो लाग्ने बताए। नेपालले भने, “विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुङ्गो लाग्छ।”
पुरानो गठबन्धन ब्युँताउने विषयमा सोधिएको प्रश्नमा नेपालले भने, “कुराकानी चलिरहेको छ। अनेक विकल्प छन्। ती विकल्पमध्ये सबैभन्दा राम्रो विकल्प के हुन्छ, जुन विकल्पले देशको राजनीतिलाई ठीक दिशामा लग्न सक्छ, संविधानलाई जोगाउन र राष्ट्रियतालाई बचाउन भूमिका खेल्छ, त्यही विकल्पमा जानुपर्छ।”
राष्ट्रपतिका निर्वाचनका विषयमा छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ थियो। राष्ट्रपतिको उम्मेदवारका विषयमा सोधिएको प्रश्नमा नेपालले भने, “कसले पाउने, कुन व्यक्तिले पाउने, कुन पार्टीले पाउने भन्नुभन्दा पनि कसरी देशको समस्या सम्बोधन गर्ने भन्ने मुख्य कुरा हो।”
राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।