पूर्व न्यायाधीशलाई राष्ट्रपति बन्न संविधानले रोकेको छैन: न्यायाधीश समाज
पूर्व प्रधानन्यायाधीश तथा पूर्व न्यायाधीशलाई राष्ट्रपति तथा उपराष्ट्रपति बन्न संविधानले बन्देज नलगाएको न्यायाधीश समाजले जनाएको छ।
न्यायाधीश समाज, नेपालका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले बिहीबार प्रेस विज्ञप्ति जारी गरी पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशका विषयमा भइरहेका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्। पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशलाई राष्ट्रपति तथा उपराष्ट्रपति बनाउन हुँदैन भनेर चर्चा-परिचर्चा भइरहेका वेला न्यायाधीश समाजले आपत्ति प्रकट गरेको छ।
न्यायाधीश समाजले भनेको छ, “सेवानिवृत्त न्यायाधीशलाई संविधानको कुनै पनि धाराले राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन बन्देज लगाएको छैन।”
पूर्व न्यायाधीशहरूका बारेमा अनावश्यक भ्रम फैलाइएको न्यायाधीश समाजको जिकिर छ। “संवैधानिक प्रक्रिया स्वाभाविक रूपमा क्रियाशील हुने कुराप्रति सर्वसाधारणमा अनावश्यक भ्रम पैदा हुने गरी नेपालको राष्ट्रपति तथा उपराष्ट्रपति पदमा आसन्न निर्वाचनको पूर्व सन्ध्यामा गरिएका पूर्व न्यायाधीशहरूप्रतिको असान्दर्भिक चर्चा, अमर्यादित टीकाटिप्पणी तथा योग्यता सम्बन्धमा अगाडि सारिएका आग्रह र पूर्वाग्रहपूर्ण दृष्टिकोणप्रति न्यायाधीश समाज नेपाल गम्भीर सरोकार, असहमति र आपत्ति प्रकट गर्दछ,” न्यायाधीश समाजले भनेको छ।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

.jpg)