सरकारले ‘हिंसा दिवस’ लाई राष्ट्रिय दिवस भनेर मनायो: केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ‘हिंसा दिवस’ लाई राष्ट्रिय दिवस भनेर मनाएको टिप्पणी गरेका छन्।
बिहीबार आफ्नो निवासमा ‘विश्वशान्ति प्रार्थना’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। “हिंसा टुङ्गिएको थियो, तर हिंसाको धङधङ्ती अझै पनि छ मान्छेहरूका क्रियाकलापमा, व्यवहारमा,” अध्यक्ष ओलीले भने, “अहिलेकै सरकारले पनि ‘हिंसा दिवस’ लाई राष्ट्रिय दिवस भनेर मनायो।”
सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ का रूपमा सार्वजनिक बिदा दिएको थियो। २०५२ फागुन १ गते तत्कालीन माओवादीले सशस्त्र विद्रोह शुरू गरेको थियो। त्यसको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’ का रूपमा सार्वजनिक बिदा दिएको थियो।
मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिने निर्णय गर्दा कुनै प्रतिक्रिया नदिएका एमाले अध्यक्ष ओलीले अहिले आएर त्यसलाई गलत भनेका हुन्। एमाले पनि सरकारमा सहभागी छ।
अध्यक्ष ओलीले भने, “त्यसलाई राष्ट्रिय दिवस भनेर मनाउने गरी क्यालेन्डरमा राख्ने दुःखद निर्णय गर्यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरो सही होइन।”
सरकारले निर्णय गर्दा आफूलाई कुनै थाहा नदिएको ओलीको भनाइ थियो। “सरकारले किन गर्यो, आकस्मिक रूपमा किन गर्नुपर्यो?” ओलीले प्रश्न गरे, “आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्यो? मैले पनि बुझेको छैन।”
नेपाल हिंसाको पक्षमा नउभिने उनको भनाइ थियो। “नेपाल हिंसाको पक्षमा हुन सक्दैन। नेपाली जनतालाई परस्परमा लड्ने–लडाउने कुरालाई स्वीकार्न सकिंदैन। हिजो पनि सकिंदैनथ्यो, आज पनि सकिंदैन र भोलि पनि सकिंदैन,” ओलीले भने।