महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन कांग्रेसलाई लोसपाको प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नेपाली कांग्रेसलाई प्रस्ताव गरेको छ।
लोसपा नेताहरूले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सहमतिका लागि ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्। “अहिलेको अवस्थामा राष्ट्रिय सहमतिका लागि हाम्रो पार्टी अध्यक्ष महन्थ ठाकुर राष्ट्रपतिको उम्मेदवारका उपयुक्त पात्र हुनुहुन्छ भनेर प्रस्ताव गरेका छौं,” लोसपा नेता शरदसिंह भण्डारीले भने।
लोसपा अध्यक्ष ठाकुर सहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झा, शरदसिंह भण्डारी बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेका थिए। उनीहरूले कांग्रेस सभापति देउवासँगको छलफलमा राष्ट्रिय सहमतिका लागि सबैभन्दा उपयुक्त व्यक्ति ठाकुर भएकाले उम्मेदवार बनाउन आग्रह गरेका थिए।
“राष्ट्रपतिका लागि शालिन, भद्र व्यक्तित्व हुनुपर्यो, सबैले विश्वास गरेको मान्छे हुनुपर्यो,” कांग्रेस सभापति देउवासँगको छलफलपछि लोसपा नेता भण्डारीले भने, “त्यसका लागि उपयुक्त पात्र हाम्रो अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ भनेर सबै पार्टीका नेताहरूलाई भेटिरहेका छौं।”
लोसपा नेताहरूले फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए। त्यस्तै, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका छन्।
कांग्रेस सभापति देउवाले सकारात्मक जवाफ दिएको लोसपा नेताहरूले बताएका छन्। राष्ट्रिय सहमतिका लागि विभिन्न व्यक्तिका नाम आइरहेको र त्यसमा ठाकुरको नाम पनि थपेर छलफल गर्ने देउवाले जवाफ दिएको भण्डारीले बताए।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसअघि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।