रिपोर्ट शनिबार, असार २८, २०७६

बर्खा लाग्यो, विपत् आयो !

मुकेश पोखरेल

पानीको प्राकृतिक बहाव रोक्ने संरचना खडा गरेर बनाइएका अव्यवस्थित बस्ती, सार्वजनिक जमीनको अतिक्रमण र जथाभावी खोस्रिएका सडक नै सामान्य वर्षाका बेला पनि बाढी, पहिरो र डुबान निम्त्याउने कारण बनेका छन्।

काठमाडौंको कलङ्कीस्थित मालपोत कार्यालय नजिकको बस्तीमा बाढी पसेपछि उद्धार गर्दै सशस्त्र प्रहरी । तस्वीरहरूः रासस

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर मनसुनका बेला सात दिनसम्मको झरीलाई सामान्य मान्छिन् ।

त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक एवम् प्रकोप विज्ञ रञ्जनकुमार दाहाल पनि मनसुनमा पाँचदेखि नौ दिनसम्मको झरीलाई स्वाभाविक ठान्छन् ।

तर, यस वर्ष दुई (२५ असारदेखि) दिनको झरीले नै देशका १२ भन्दा बढी जिल्ला प्रभावित भएका छन् ।

यही दुई दिनको वर्षाका कारण आएको बाढी–पहिरोबाट २७ असार साँझ् ७ बजेसम्म खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, काभ्रे, ललितपुर, मकवानपुर, धादिङ र पर्सामा गरी १२ जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौंमा पर्खाल भत्कँदा तीन जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार १५ जनाको मृत्युसँगै ६ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।

“मनसुनमा झरी नपरे कहिले पर्ने” दाहाल भन्छन्, “अहिलेको झरी सामान्य हो, यत्ति पानी नपरे त हाम्रो जीवन प्रणाली नै प्रभावित हुन्छ ।” तर जीवन प्रणाली सुचारु बनाइराख्ने यही सामान्य झरी पनि पछिल्लो समय विपत् बन्न थालेको छ । दुई दिनको सामान्य वर्षाले काठमाडौं, ललितपुर र भक्तपुरका साथै तराईका जिल्ला डुबानमा परेका छन् भने पहाडी जिल्लाहरूमा पहिरोले क्षति पु¥याएको छ ।

२७ असारमा काठमाडौंका कलंकी, कुलेश्वर, भक्तपुरका सल्लाघारी र राधेराधे लगायतका ठाउँ डुबानमा परे । मौसमविद्हरू यो डुबानलाई अव्यवस्थित शहरीकरण, सार्वजनिक स्थान साथै खोला किनार र बगरमा समेत भइरहेको अतिक्रमणको उपज मान्छन् ।

लगातारको वर्षाका कारण झापाको दमक–७ स्थित पशुहाट क्षेत्रका जलमग्न सुकुम्बासी बस्ती ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अव्यवस्थित शहरीकरण, जताततै गरिएको ढलानका कारण वर्षाको पानी जमीनमा सोसिन नपाई सीधै खोलामा मिसिंदा काठमाडौंका खोलाहरूमा पानीको बहाव बढेको बताउँछन् । “घरका छत, सडक सबैतिरको पानी कहींकतै सोसिंदैन, सबै बगेर खोला–नदीमा पुग्छ” श्रेष्ठ भन्छन्, “त्यसैले थोरै पानी पर्दा पनि खोलामा बाढी आउँछ, बस्ती डुब्छ ।”

२७ असार दिउँसो काठमाडौंको कोटेश्वरदेखि चोभारसम्म वागमती नदी अवलोकन गर्दा पानीको बहाव असामान्य देखेका सह–प्राध्यापक दाहाल अव्यवस्थित बस्ती विकास र विभिन्न संरचनाले सतहमा पानीको प्राकृतिक बाटोलाई विथोलिदिएका कारण बस्तीहरू डुबानमा परेको बताउँछन् । उनी भन्छन्, “केही वर्षअघिसम्म यत्तिको पानी पर्दा वागमतीमा पानीको बहाव अहिले जस्तो हुँदैनथ्यो ।”

दाहाल पछिल्लो १० वर्षयता मनसुनका बेला लगातार झरी लाग्न छोडेका कारण लामो झ्री मानिसलाई असामान्य लाग्न थालेको बताउँछन् । जल तथा मौसम विज्ञान विभागका अनुसार २७ असार साँझ् ५.४५ बजेसम्म काठमाडौं उपत्यकामा २४ घण्टामा ११५ मिलिमिटर वर्षा भएको छ ।

यसभन्दा अघि सन् २००२ को जुलाइमा २४ घण्टामा १७७ मिलिमिटर वर्षा भएको थियो जुन अहिलेसम्मको उच्च रेकर्ड हो । त्यसैगरी २७ असारमा सिमरामा २४ घण्टामा भएको वर्षाले अहिलेसम्मकै रेकर्ड तोडेको छ । विभागका अनुसार सिमरामा ३११.९ मिलिमिटर वर्षा भएको छ । सिमराको यसअघिको रेकर्ड २६६.४ थियो ।

पहिरोले भत्काएको ओखलढुंगाको खिजीफलाटेका धनबहादुर तामाङको घर ।

पहाडमा बढी क्षति
यी दुई दिनमा तराईको तुलनामा पहाडमा कम वर्षा भए पनि यही अवधिमा धनजनको क्षति पहाडमा बढी भएको छ । भूगर्भशास्त्रीहरू यसको कारण, इन्जिनियरिङ अध्ययन विना खनिएका सडकलाई मान्छन् ।

सह–प्राध्यापक दाहाल पहाडी क्षेत्रमा डोजरले जथाभावी खोस्रेका सडकका कारण पहिरो गइरहेको बताउँछन् । उनी भन्छन्, “वर्षाको पानी बहने प्राकृतिक बाटो भत्काइयो, जमीन कमजोर पारियो त्यसैले सामान्य झरीमै पहिरो गएर ठूलो क्षति हुन थालेको छ ।”

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उपलब्ध गराएको विवरण अनुसार खोटाङ, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोले बगाएर मानिसको ज्यान गएको छ ।

अहिले जमीनको माथिल्लो सतहको माटो मात्रै बगिरहेको तर, अझैं लामो र ठूलो झरी पर्ने हो भने क्षति झनैं ठूलो हुनसक्ने दाहाल बताउँछन् । हुन पनि, असार महीना शुरू भएयता सडक माथिबाट खसेको लेदोका कारण पृथ्वी राजमार्ग पाँच पटक अवरुद्ध भइसकेको छ ।

यसअघि ठूला पहिरोका घटनामा बाहेक बन्द नभएको यो राजमार्गमाथिको डाँडो डोजरले जथाभावी खोस्रिंदा बगेको लेदोले सडक अवरुद्ध पारेको हो । गृह मन्त्रालयका अनुसार २७ असारको वर्षाका कारण देशभरका १२ वटा सडक अवरुद्ध भएका छन् ।

मेट्रोसिटी कोलोनी, कुलेश्वर, काठमाडौं । तस्वीरः कविन्द्रमान शाक्य÷फेसबुक

२५ असारदेखि नेपालको आकाशमा विकसित न्यूनचापीय रेखाका कारण लगातार वर्षा हुन पुगेको जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौमसविद् इन्दिरा कँडेल बताउँछिन् । कँडेलका अनुसार मनसुनका बेला न्यूनचापीय रेखा करीब दुई साताको अन्तरमा सक्रिय हुने गर्छ ।

न्यूनचापीय रेखा नेपालबाट सरेर मध्यभारतमा पुग्दा नेपालमा मनसुनी प्रणाली निष्क्रिय हुन्छ भने भारतबाट नेपालतर्फ प्रवेश गरेपछि फेरि सक्रिय। यही कारण नै दुई साताअघि मध्यभारतका धेरै ठाउँमा भारी वर्षा भइरहँदा नेपालमा सुक्खा थियो, अहिले मध्यभारत सुक्खा रहँदा यता भिजिरहेको छ । 

प्रतिकृया दिनुहोस