अनेरास्ववियुको नेतृत्वका लागि चार जना दाबेदार
नेकपा (एमाले) निकट अनेरास्ववियुको नेतृत्वका लागि चार जना दाबेदार रहेका छन्।
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको आजदेखि बन्दसत्र शुरू हुनेछ। अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार, बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया शुरू हुनेछ।
बन्दसत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। अध्यक्षमण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनीता बराल रहेको छ।
अध्यक्षमण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन हुनेछ। महाधिवेशनले आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) चयन गर्नेछ। महाधिवेशनमा एक हजार ५७३ प्रतिनिधि सहभागी छन्।
नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल दाबेदार रहेका छन्। सकभर सहमति गर्ने र सहमति जुट्न नसके निर्वाचन गर्ने तयारी गरिएको छ।